बाराको निजगढ ६ स्थित बागदेव दुग्द्य उत्पादक सहकारी संस्थामा हिजो वुधवार राप्रपाले प्रदर्शन गरेको छ ।
केहि दिन अघि संस्थाका पूर्व लेखापाल गोविन्द गौतमले संस्थाको सामान खरिदमा अनियमितता भएकोभन्दै समाजिक संजाल फेकबुकमार्फत घटना सार्वजनिक गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढले हिजो संस्था परिसरमा प्रदर्शन गरेको छ । राप्रपा निजगढको अगुवाइमा सयौंको संख्यामा उपस्थित कार्यकर्ता र सर्वसाधारण किसानले घटनाको छानविन गरी दोषिमाथि कारबाहीको माग गर्दै नारा जुलससहित प्रदर्शन गरेका हुन ।
संस्थाका लेखापाल गौतमले पदबाट राजिनामा दिएपछि अनियमित बिलको भुक्तानी विवादमा आफूले राजिनामा दिनुपरेको सामाजिक संजालमा लेखेका थिए । संस्थाको सामान खरिदमा पूर्वकर्मचारीले नै भ्रष्टाचार भएको कुरा सार्वजनिक गरेपछि छानबिन र दोषिमाथि कारबाहीको माग गर्दै केहि दिन अघि एक विज्ञप्ति निकालेको थियो तर विज्ञप्तिलाई संस्थाका पदाधिकारीहरुले वास्ता नगरेपछि वाध्य भएर प्रदर्शन गरिएको राप्रपा नगर अध्यक्ष खडगप्रसाद उप्रेतीले बताउनुभयो ।
उहाँले खरिद प्रक्रियमा भएको भनिएको अनियमितताबारे सत्यतथ्य छानबिन नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने पनि बताउनुभएको छ ।