सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाका कार्यकर्ताहरुले हिजो साँझ निजगढमा छुट्टाछुट्टै प्रदर्शन गरेका छन ।
कुलमान बर्खास्तीको विरोधमा माओवादी र रास्वपाले संयुक्त रुपमा र राप्रपाले छुट्टै प्रदर्शन गरेका हुन । माओवादी÷ रास्वपा कार्यकर्ताहरुले हातमा टुकी बत्ति बालेर सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका थिए भने राप्रपाले माओवादी र रास्वपाको प्रदर्शन सकिएपछि मसाल जुलुस निकालेको हो । निजगढको बुद्ध चोकबाट शुरु भएको माओवादी र रास्वपाको प्रर्दशन पूर्वपश्चिम राजमार्ग हुँदै ईलाका प्रहरी कार्यालय अगाडि पुगेपछि शहिद चोकमा फर्किएर कोण सभामा परिणत भएको थियो । कोणसभामा माओवादीका रविराज दङ्गाल, बेनीबहादुर मोक्तान, सन्तोष दङ्गाल र रास्वपाका रामहरी खरेलले कुलमान घिसिङ्गलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेका थिए ।


त्यसैगरी राप्रपाले पनि मसाल जुलुससहित विरोध प्रदर्शन पछि शहिद चोकमा कोणसभामा गरेको थियो । सभामा राप्रपा निजगढ नगर अध्यक्ष खडगप्रसाद उप्रेतीले शंवोधन गर्नुभएको थियो ।