राष्ट्रिय भूमि आयोग बाराले हिजोबाट निजगढ ४ को कछडिया टोलको सुकुम्बासी बस्तिमा जग्गा नापजाँचको काम शुरु गरेको छ ।
भरतबहादुर घले नेतृत्वको भूमि आयोग बाराले निजगढ नगरपालिका ४ बाट जग्गा नापजाँचको काम शुरु गरेको हो । आयोगबाट खटेका २ जना सर्भेक्षक र ४ जना अमिनसहितको टोलीले जमिन नापीको काम शुरु गरेको निजगढ नगरपालिका नापी शाखाका अमिन अनिल शाहले बताउनुभयो । उहाँका अनुसार कर्मचारीहरुले सो क्षेत्रमा पर्ने नम्बरी जमिन छुट्याएर स्थानीयले भोग गर्दैआएको ऐलानी जमिनको नक्सा बनाउने प्रयोजनको लागि जग्गा नापजाँच शुरु गरेको हो ।


अबको एक साताभित्र सो क्षेत्रको जमिन नापजाँचको काम पुरा हुने र नक्सा तयार पारेर बुझाएपछि आयोगले धनीपूर्जा वितरणको प्रक्रिया शुरु गर्ने उहाँले जानकारी दिनुभयो । सो बस्तिमा हाल ५८८ अव्यवस्थित बसोबासी, ७३ भूमिहिन सुकुम्बासी र १ भूमिहिन दलित परिवारको बसोबास रहेको स्थानीय अगुवा महेशी कुवरले जानकारी दिनुभयो । सो जमिनमा ०५४ सालबाट सुुकुम्बासीले बसोबास शुरु गरेका हुन । टोलीले सोही वडाको पुरानो टोलको सुकुम्बासी बस्तीमा पनि जग्गा नापजाँचको काम शुरु गरेको छ । सो अवसरमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, वडा अध्यक्ष विसन सापकोटा, स्थानीय राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले कसैको प्रभाव र दवावमा नपरी जमिन नाप्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । त्यसैगरी उहाँले जग्गाधनीहरुले पनि आफूहरुले भोगचल गरेको जमिनमात्रै दाबी गर्न आग्रह गर्नुभएको थियो ।
यसअघि छविलाल उप्रेती अध्यक्ष रहेको आयोगले निजगढ नगरपालिका वडा नम्बर ८ खयरघारीमा पनि जमिन नापचाँजको काम पूरा गरेको थियो । तर सो क्षेत्रका बासिन्दाले अहिलेसम्म पनि धनीपूर्जा हात पार्न सकेका छैनन ।