निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरस्थित श्री शिवशक्तेश्वर आधारभूत विद्यालयले आगामी मंसिर ५ गते निजगढ नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयका छात्रछात्राबीच नगरस्तरीय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।
विद्यालयका प्रधानाध्यापक विशाल अधिकारी र अतिरिक्त क्रियाकलाप विभागका संयोजक तुलवीर रोकायद्वारा जारी सूचनाअनुसार प्रतियोगितामा नगर क्षेत्रभित्रका विद्यालयहरूमा कक्षा ८ सम्म अध्ययनरत छात्रछात्रा सहभागी हुन सक्नेछन्। सहभागी विद्यार्थीहरूले आफूले रचना गरेको कविता मंसिर १ गतेभित्र कार्यालय समयभित्र विद्यालयको इमेल ठेगानामा पठाइसक्नुपर्ने जनाइएको छ। साथै, एक विद्यालयबाट बढीमा दुई जना विद्यार्थी मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।


सूचनाअनुसार प्रतियोगितामा सहभागी कविताको विषयवस्तु राष्ट्रियता, देशप्रेम, गणतन्त्र, शिक्षा, बालअधिकार तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित हुनुपर्नेछ। प्राप्त कवितामध्ये छनोट समितिबाट सिफारिस भएका उत्कृष्ट १५ वटा कविता विद्यालयको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने र ती कविताहरू मंसिर ५ गते विद्यालय प्राङ्गणमा आयोजना हुने प्रतियोगितामा वाचन गरिने जनाइएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विद्यालयलाई आकर्षक पुरस्कार र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्रधानाध्यापक विशाल अधिकारीले जानकारी दिनुभयो।
















