लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी र भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण यस आपसपासका क्षेत्रमा स्तरीय तारे होटल सञ्चालनमा आएका छन् । कोरोनाका कारण लगानीमा ढिलाइ गरिरहेका केही व्यवसायी पनि अहिले होटल निर्माणमा अग्रसर देखिएका छन् । कोरोना महामारीका कारण करिब दुई वर्ष मुलुकभर उत्पादन र लगानीका क्षेत्र प्रभावित भए । उद्योग र कलकारखानाले उत्पादन कटौती गरे । बिक्री ठप्पजस्तै भयो । बजारमा कारोबार थामिएको थियो । यही अवधिमा सेवामूलक होटल व्यवसायमा भने लगानी ओइरिएको हो ।
रूपन्देहीको बेलहिया स्थलमार्ग हुँदै मुलुकमै धेरै पर्यटक भित्रिने नाका हो । यो नाका खुलेपछि यहाँका पर्यटन व्यवसायी हौसिएका छन् । सीमावर्ती भारतीय आउन थालेपछि होटलले सेवा थप गरिरहेका छन् । जिल्लामा साना रेस्टुराँ र लजसँगै दुईदेखि पाँचतारेसम्मका होटल सञ्चालनमा छन् । विशेषगरी भैरहवा, बुटवल र लुम्बिनीमा तारे होटलमा लगानी गर्ने व्यवसायीको इच्छा तीव्र देखिन्छ ।
लुम्बिनीस्थित पाँचतारे होटल पवन प्यालेसमा हिजोआज चहलपहल छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–९ महजिदियामा साढे ३ बिघा क्षेत्रफलमा निर्मित यस होटलमा पवन हलुवाई र राजीव बेरिवालको ३ अर्ब रुपैयाँ लगानी छ । साततले भवनसहित अन्य संरचना ४ वर्षमा तयार भएका हुन् । १४७ कोठा रहेको पवन प्यालेसका अहिले ७० कोठा र एउटा रेस्टुरेन्ट प्रयोगमा रहेको सञ्चालक हलुवाईले जानकारी दिए । ‘स्विमिङ पुल पनि सञ्चालनमा छ,’ उनले भने, ‘लगानी थप्दै जाने र लुम्बिनी आउने पर्यटकको आगमनको गन्तव्य बनाउँदै छौं ।’ होटलमा ६ देखि १० हजार रुपैयाँसम्मका कोठा छन् । ती कोठामा बस्ने पाहुनाले बिहानी खाजा निःशुल्क पाउँछन् । विमानस्थल सञ्चालनमा आएपछि विदेशी पर्यटकसमेत आउने विश्वास उनलाई छ ।
रूपन्देहीको मायादेवी गाउँपालिका–८ अञ्चलपुरमा नेपाली नयाँ वर्षबाट सञ्चालन सुरु गर्ने गरी होटल सिद्धार्थ इन्टरनेसनल निर्माणको अन्तिम चरणमा छ । अहिलेसम्म २ अर्ब रुपैयाँ लगानी पुगेको होटलका रिजनल म्यानेजर महेन्द्र न्यौपानेले बताए । होटलमा एक क्यासिनोसहित हेल्थ क्लब, कन्फ्रेन्स हल र कोठा रहने उनले जनाए । रूपन्देहीमा बाह्य पर्यटकको आगमन बाक्लिने निश्चित भएकाले पहिलेदेखि बुटवलमा परिचित सिद्धार्थ ग्रुपलाई थप सुविधायुक्त होटलमा लगानी गर्न पर्यटकीय वातावरणले सघाएको उनको भनाइ छ । होटल साढे २ बिघा क्षेत्रफलमा फैलिएको छ ।
तिलोत्तमामा वैदेशिक लगानीमा सञ्चालनमा आएको टाइगर प्यालेस रिसोर्ट क्यासिनोसहितको पाँचतारे होटल हो । अहिले उक्त होटल बन्द रहे पनि सञ्चालन हुँदाताका भारतीय र नेपालीका साथै विदेशी पाहुनाको बाक्लो उपस्थिति हुने गर्थ्यो । होटलसम्बन्धी केही विवाद भएकाले उक्त होटल बन्द छ । देशकै ठूलो क्यासिनो रहेको प्यालेस पुनः सञ्चालनमा आउने तयारीमा छ । होटलमा साढे ३ अर्बभन्दा बढीको लगानी रहेको बताइन्छ ।
लुम्बिनीमा २०५७ मा ५ करोड रुपैयाँ लागतमा खुलेको चारतारे होटल बुद्धमाया गार्डेन्स पनि आन्तरिक र बाह्य पर्यटकका लागि सुविधासम्पन्न होटल हो । केजीएच ग्रुपअन्तर्गत कर्ण शाक्यको लगानीमा सञ्चालित उक्त होटलमा ७६ वटा डिलक्स रुमसहित साउना, स्टिम बाथ, जिम सेन्टरसमेत उपलब्ध रहेको होटलका वित्तीय प्रबन्धक श्यामकाजी थापाले बताए । पाँच एकड जमिनमा फैलिएको यो होटल लुम्बिनी आउने बुद्ध अनुयायीका लागि पर्याप्त सुविधासहितको रहेको उनको दाबी छ ।
जिल्लाका परिचित व्यवसायी बालकृष्ण भुसालको लगानीमा होटल मेगाका नाममा भैरहवामा पाँचतारे र बुटवलमा चारतारे होटल निर्माण भइरहेको छ । यसमध्ये भैरहवाको होटल मेगा डेढ वर्षपछि सञ्चालन गर्ने योजना लगानीकर्ताको छ । यो होटल १ लाख ३५ हजार वर्गफिट क्षेत्रफलमा फैलिनेछ । यसको क्यासिनो मात्रै ११ हजार वर्गफिटमा बन्ने भुसालले जानकारी दिए । दुई वर्षमा निर्माण सक्ने भनिए पनि कोरोना महामारीका कारण केही समय बढी लाग्ने देखिएको उनको भनाइ छ । होटलमा ११७ कोठा रहनेछन् । बुटवलमा निर्माण हुने चारतारे होटल मेगा तेस्रो एडिसन हो, जुन होटल ५५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको हुनेछ । यसमा ६१ कोठा हुनेछन् भने ३ वर्षमा निर्माण सक्ने लक्ष्य छ ।
तिलोत्तमास्थित चारतारे होटल ड्रिमल्यान्डमा कोरोना महामारी सुरु हुनुअघिसम्म विदेशी पाहुनाकै आगमन बाक्लो हुने गरेको सञ्चालक गोपाल राना बताउँछन् । अहिलेलाई भने आन्तरिक पर्यटकले धानिरहेको उनको भनाइ छ । १ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको रिसोर्टमा १ हजार ५ सय पाहुना अटाउने अन्तर्राष्ट्रिय कन्फ्रेन्स हलसँगै ५ अन्य हल र सुविधायुक्त कोठा छन् । ‘चारतारे भएकाले होटलमा सबै सुविधा छन्,’ उनले भने, ‘बिस्तारै लयमा फर्कंदै छ । तर बाह्य पर्यटकको आगमन जरुरी छ ।’ सिद्धार्थनगरस्थित नान्स चारतारे होटल हो ।
उक्त होटलमा १ अर्ब २५ करोड रुपैयाँ लगानी रहेको सञ्चालक तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले बताए । होटलमा ६१ कोठा छन् भने आगन्तुकका लागि स्टिम बाथ, साउना बाथ, स्विमिङ पुल, जिम हाउस, हल, लाउन्ज, रेस्टुराँका साथै क्यासिनोको समेत व्यवस्था छ । ‘पछिल्लो दुई महिना भारतीय र नेपाली अतिथिको उपस्थिति ३० प्रतिशत पुगेको छ,’ श्रेष्ठले भने, ‘अब बाह्य पर्यटकको पर्खाइ छ ।’ कोरोना महामारीपछि सञ्चालनमा आएको होटल व्यवसायले गति लिएको र यो गति नरोकिए अर्थतन्त्रमा सुधार आउने दाबी गरे ।
भैरहवामै रहेको चारतारे होटल निर्वाणामा ६० कोठा छन् । होटलमा अतिथि आउने विशेषताका रूपमा ओरियन्टल खानाका परिकार रहेको जनरल म्यानेजर पवन गोयलले बताए । भारतीय र चिनियाँ खानाको सम्मिश्रणलाई एउटै परिकारमा जोडेकाले पाहुनालाई उक्त खानाले लोभ्याउने गरेको उनको अनुभव छ । होटलमा ५ जनाको १६ करोड लगानी छ । सिद्धार्थनगरमा रहेको चारतारे होटल बोधी रेडसनले पनि राम्रै पहिचान बनाएको छ ।