निजगढ नगरपालिका वडा नम्बर ७ लच्कास्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयको ४३औँ जन्मजयन्ती तथा ४४औँ अभिभावक दिवस हिजो विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पुरीले शिक्षाको गुणस्तर उकास्न आधारभूत तहको पठनपाठन सुदृढ हुन आवश्यक रहेको बताउनुभयो।


कार्यक्रममा चालु शैक्षिक सत्रको वार्षिक परीक्षा, विद्यालयद्वारा सञ्चालन गरिएको खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने छात्रछात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो।
सांस्कृतिक सत्रअन्तर्गत विद्यालयका बालबालिकाहरूले चेतनामूलक गीत, नृत्य तथा लघु नाटक प्रस्तुत गर्दै उपस्थित दर्शकको मन जितेका थिए।
उद्घाटन सत्रमा नगर प्रमुख पुरीसहित उपप्रमुख सोममाया थिङ, निजगढ नगरपालिकाकी पूर्व उपप्रमुख लिलादेवी लामिछाने, स्थानीय समाजसेवी घनश्याम लम्साल, भोजराज अधिकारी, बासुदेव तिमल्सिनालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक हरिशरण सुवेदी र किरण श्रेष्ठले गर्नुभएको थियो।
















